३ चैत्र, काठमाण्डौँ । नेकपा (एमाले) माधव नेपाल समुहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाही गरेर देखाउन चेतावनी दिनुुभएको छ । कारवाहीको धम्की नदिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भट्टराईले चेतावनी दिनुभएको हो । उहाँले आफूहरु एकपछि अर्काे कारबाही भोग्न तयार रहेको समेत बताउनुभयो । चैत्र ४ र चैत्र ५ गते काठमाडौंमा गरिने कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित प्रेस मिटमा बोल्दै उहँँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘हामी कारबाही भोग्न तयार छौं । लामवद्ध छौं । हामीलाई त्यसमा कुनै चिन्ता छैन् ।’ भट्टराईले प्रधानमन्त्री ओली अहिले ईतिहासको कठघरामा उभिएको भन्दै जवाफ दिनुपर्ने बताउनुभयो । ‘म तपाईँलाई अनुरोध गर्छु, तपाईँ अहिले ईतिहासको कठघरामा उभिनुभएको छ । जब ईतिहासले सोधेको प्रश्नको उत्तर दिन तपाईँ असमर्थ हुनुहुन्छ, ती उत्तर दिन सक्नुहुन्न, त्यो बेला ईतिहासले तपाईँलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईँको निम्ति दुई थोपा आँशु चुहाउने मान्छे नहुनपनि सक्लान् ।’ उहाँले भन्नुभयो ।
उहाँले धम्कीको भाषा नबोल्नपनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिनुभयो । अब दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने बारुदका गन्ध नफैलाउन पनि उहाँले अर्काे चेतावनी दिनुभयो ।