२७ फाल्गुन, झापा । चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ । अवार्ड यही फाल्गुन २८ गते साँझ ठिक ५ बजे बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ ।
नेपाल खेलकुद पत्रकार मंञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गर्दै आएको ‘झापा स्पोर्टस् अवार्ड’को चौथो संस्करणमा सात विधाका आठजना खेल प्रतिभालाई नगदसहित सम्मान गरिने अध्यक्ष हिमाल खरेलले जानकारी दिनुभयो ।
मंञ्चले यसअघि पत्रकार सम्मेलन गरेर विभिन्न चार विधाका मनोनितहरु सार्वजनिक गरिसकेको छ । प्रत्येक विधामा तीनतीनजना प्रतिभा छनोट गरिएको प्रतिभा छनोट समितिका संयोजक सचित आनन्द सुब्बाले बताउनुभयो ।
मनोनितमध्ये एकजनाले कार्यक्रमको दिन नगदसहित ट्रफी प्राप्त गर्नेछन् । यसपालिको अवार्ड कार्यक्रमका मनोनीतहरुमा वर्ष उत्कृष्ट खेलाडी (पुरुष)मा अनन्त तामाङ (फुटबल), सेसेहाङ आङदेम्बे (फुटबल) र छिरिङ गुरुङ (फुटबल) छन् । तामाङ र आङदेम्बे झापा र गुरुङ इलामका हुन् ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला)मा जुनी राई (उसु), देविका खड्का(जुडो) र कमला श्रेष्ठ (फेन्सिङ) रहेका छन् । राई इलाम तथा खड्का र श्रेष्ठ झापाका हुन् ।
वर्ष उत्कृष्ट खेलाडी (युवा)मा रेजिन सुब्बा (फुटबल), मनिता श्रेष्ठ प्रधान (जुडो) र अनुजा कुलुङ राई (कबड्डी) छन् । सुब्बा र राई झापा र प्रधान पाँचथरकी हुन् । वर्ष उत्कृष्ट प्रशिक्षकमा प्रवेश कटवाल (फुटबल), मदन उप्रेती (कराते), वोङदेन लामा (पौडी) रहेका छन् । कटवाल र उप्रेती झापा तथा लामा इलामका हुन् ।
वर्ष खेलाडी (पुरुष) लाई एक थान मोटरसाइकल, वर्ष खेलाडी (महिला) लाई एक थान स्कुटर, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका सचिव अर्जुन राजवंशीले जानकारी दिए ।
त्यस्तै, पिपुल्स च्वाइजअन्तर्गत एक खेलाडीलाई नगद २५ हजार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।