२२ फाल्गुन, काठमाण्डौँ । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बटम थिचेपछि फाल्गुन १० गते सुरुङमा हालिएको पानी सुन्दरीजलमा खसेको हो ।
आयोजनाका अधिकारीहरुका अनुसार सुरुङबाट आएको पानी सुरुमा बागमतीमा फालिने छ । सुरुको पानी फोहोरसहित आउने भएकाले बागमतीमा खसालिएको हो ।
आयोजना निर्माण थालिएको करिब दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङ हुँदै शनिबार काठमाडौंस्थित सुन्दरीजलमा आइपुगेको हो ।
आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ ।
यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो ।
अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन् ।
सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।