२० फाल्गुन, काठमाण्डौँ । सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपावीच आज बिहीबार तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको छ । सहमतिको विस्तृत विवरण भोली दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने बताइएको छ ।
विस्तृत विवरण सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्द समूहका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने विज्ञप्तिमा उल्लेख छ । सहमतिमा चन्द समूहले आफ्ना हिंसात्मक प्रदर्शन रोक्दै शान्तिपूर्ण रुपमा राजनीतिक क्रियाकलापहरू अगाडि बढाउने उल्लेख भएको संयुक्त विज्ञप्तिमा जनाइएको छ । त्यस्तै चन्द समूहमाथि लगाइएको प्रतिबन्ध र उक्त समूहका नेता कार्यकर्ता रिहाइ गर्ने तथा मुद्दा खारेज गर्ने पनि सहमतिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन् ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फाल्गुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।
यता सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको राजनीतिक दलका नेताहरुले स्वागत गरेका छन् । वार्ताबाट राजनीतिक विषयको समाधान वार्ताबाट गर्ने, शान्तिपूर्ण राजनीतिक गतिविधि सञ्चालन गर्ने, सरकारले लगाएको प्रतिवन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेज गर्ने, फागुन २१ गते विशेष समारोहका बीच प्रधानमन्त्री केपी ओली र विप्लवले संयुक्त रुपमा सम्वोधन गर्ने, सार्वजनिक हुने, एउटै मञ्चबाट प्रधानमन्त्री ओलीसँग सम्वोधन गर्ने सहमतिको राजनितिक दलहरुले स्वागत गरेका हुन ।
राप्रपाका अध्यक्ष कमल थापाले ट्वीट गर्दै सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक रहेको बताउनुभएको ।
यस्तै जनता समाजवादीका नेता उपेन्द्र यादवले विप्लव नेतृत्वको दल शान्तिपूर्ण रुपमा राजनीतिका आउनु सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो ।
यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु सकारात्मक रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यतामा रहेर राजनीति गर्नु, संविधानप्रति प्रति प्रतिबद्ध हुनु सकारात्मक विषय भएको प्रतिक्रिया दिनुभयो ।
यसैगरी सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको ३ बुँदे सहमतिको नेकपा मालेले स्वागत गरेको छ । ‘नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीबीच आज विहान तीन बुँदे सहमति भएको कुरा सार्वजनिक भएको छ । हिंसाको राजनीतिक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिक गतिविधिमा आउनु स्वागतयोग्य छ’, मालेका कार्यालय सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।