१८ फाल्गुन, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्काे चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गर्नुभएको छ । आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, खुशीसाथ हट्छु, तर डेढ दुई वर्षपछि त चुनाव आइसक्छ, दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’
तर आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले आफूले फाल्गुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वाेच्च अदालतको फैसलाको अब परीक्षण हुने बताउनुभयो । आफूले विघटन गरेको प्रतिनिधिसभा ब्युँतिए पनि केही फरक नपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले प्रधानमन्त्रीको हैसियतले आफू अदालतको फैसला मान्ने पनि बताउनुभयो ।
आफू राजनीति गर्ने मान्छे भन्दै प्रधानमन्त्री ओलीले केही माग्न परेमा जनतामा जाने बताउनुभयो । उहाँले भन्नुभयो ‘म राजनीति गर्ने मान्छे हो । म माग्न जाँदा दरखास्त हाल्न जाँदा तपाईहरुकामा आउँछु, नेपाली जनताको बीचमा जान्छु । ममाथि अन्याय भयो, तपाईहरुले न्याय दिनुस् छु भनेर ।’
आज झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बी एण्ड सी अब छिट्टै मेडिकल कलेज बन्ने पनि बताउनुभयो ।
यस्तै आज नै प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को आज उद्घाटन समेत गर्नुभएको छ । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७ आवासगृह छन् ।
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश–१ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको रु १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।-filr photo.