१८ फाल्गुन, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शुरक्षाबारे खतरा रहेको बताउनुभएको छ । आफुमाथि शारीरिक हमला वा ज्यान तलमाथि भइहाल्यो भने पनि अनौठो नमान्न कार्यकर्ताहरूलाई सुझाउनुभएको छ ।
सोमबार पोखरामा आफ्नो पक्षका कार्यकर्तालाई प्रशिक्षित गर्दै प्रधानमन्त्री ओलीले पार्टीको नेतृत्वमा रहेका हुनाले, यस पार्टीलाई अघि बढाइरहेको हुनाले, सरकार प्रभावकारी र गतिशील ढंगले सञ्चालन गरिरहेको हुनाले, विकास निर्माणको कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित रहेको बताउनुभयो ।
प्रधानमन्त्रीको यस खुलासा संगै उहाँको शुरक्षाबारे चासो सुरु भएको छ ।
कस्तो हुन्छ प्रधानमन्त्रीको सुरक्षा घेरा ?
प्रधानमन्त्रीको सुरक्षामा नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा दुई जना प्रहरी निरीक्षक, अन्य जुनियर अधिकृतसहित करिब सय जनाभन्दा बढी संख्यामा प्रहरीको टोली खटिएको हुन्छ ।
यस्तै, नेपाली सेनाको प्रमुख सेनानीको नेतृत्वमा सयभन्दा बढी संख्यामा सैनिक अधिकृत, जुनियर अधिकृत तथा जवानहरु प्रधानमन्त्रीको सुरक्षामा तैनाथ हुन्छन् । अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयले प्रधानमन्त्रीको सुरक्षासम्बन्धी नेतृत्व गर्दछ ।
प्रधानमन्त्रीको सुरक्षामा ‘क्लोज रिङ’ भित्र सेनाकै टोली खटिएको हुन्छ । प्रधानमन्त्रीको सुरक्षामा तैनाथ सैनिकसँग अत्याधुनिक हतियारसमेत हुने भएकाले सुरक्षा दायरा त्यति कमजोर नहुने सेनाकै अवकाशप्राप्त एक अधिकारीले बताए ।
नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता सन्तोष बल्लव पौडेलले ‘विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७७ (संशोधित)’ को फ्रेमभित्र रहेर सेनाले प्रधानमन्त्रीलाई सुरक्षा दिने बताउनुहुन्छ । अति विशिष्ट व्यक्तिको सुरक्षाका लागि सेना सक्षम रहेको उहाँको भनाइ छ ।
यस्तै, प्रधानमन्त्रीको सुरक्षामा सशस्त्र प्रहरी बलको टोली पनि परिचालित हुन्छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ४० जनाको टोली प्रधानमन्त्रीको सुरक्षामा खटिने प्रवक्ता राजु अर्यालले बताउनुभयो ।
यस अतिरिक्त राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि प्रहरीको सुरक्षाका निम्ति परिचालित हुन्छन् । समग्रमा प्रधानमन्त्रीको सुरक्षामा करिब तीन सय सुरक्षाकर्मी खटिएका हुन्छन् ।
प्रधानमन्त्रीको सवारीको अग्रभागमा प्रहरीको मोटरसाइकलले स्कर्टिङ गर्दछ । त्यसपछि नेपाली सेनाको गाडी हुन्छ । सेनाको गाडी पछाडी प्रहरीको गाडी हुन्छ । त्यसपछि मात्र प्रधानमन्त्रीको गाडी हुन्छ । प्रधानमन्त्रीको गाडीभन्दा पछाडि प्रहरीको गाडी हुन्छ । पुछारमा सशस्त्र प्रहरीको एउटा गाडी हुन्छ ।-रोतोपाटी