१३ फाल्गुन, इलाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सर्वाेच्च अदालतले मुलुकलाई राजनीतिक अस्थीरता र अनिश्चितता हुनबाट रोकेको बताउनुभएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका यादवले संघीयता, गणतन्त्र र लोकतन्त्र नै ध्वस्त पार्ने योजनाका साथ भंग गरिएको संसद पुनस्र्थापना गरेर सर्वाेच्च अदालतले आन्दोलन, अस्थीरता र अनिश्चितताबाट जोगाएको बताउनुभयो ।
जनता समाजवादी पार्टी इलामले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सर्वाेच्च अदालतले केपी ओलीको निरंकुश बन्ने सपनालाई रोकेको दावी गर्नुभयो । अध्यक्ष यादवले आफूले जे चाहे त्यही हुन्छ भन्ने प्रधानमन्त्री ओलीको चिन्तनले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा परेको बताउनुभयो ।
अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले सर्वाेच्च अदालतको फैसलापछि पनि राजिनामा नगरेर आफ्नो लाचारीपन देखाएको टिप्पणी गर्नुभयो । संविधान संसोधन गरि पहिचान र सामथ्र्यको आधारमा प्रदेशहरु निर्माण गर्दै जनतालाई अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको तर्क उहाँको तर्क थियो ।
यस्तै जसपाका वरिष्ठ नेता अशोक राईले मुलुकलाई समृद्ध बनाउन र विकास गर्न अबको केही वर्ष लोकतन्त्रवादी शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो । संविधानमा रहेका कमजोरीलाई जनताको चाहनाअनुरुप संसोधन गर्दै सर्वस्वीकार्य बनाउन समेत परिवर्तनकारी शक्तिहरुको सहकार्य आवश्यक रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा जसपा कार्यकारिणी सदस्य शरदसिंह भण्डारी, परसुराम बस्नेत, सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य एवम् प्रदेश १ अध्यक्ष प्रविण चाम्लिङ, केन्द्रीय सदस्य एवम् लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य निर्मला तावाको उपस्थिती रहेको थियो ।