आर्थिक गतिविधि लयमा फर्कदैंः बैंकमा तरलता अभाव हुने संकेत

आर्थिक गतिविधि लयमा फर्कदैंः बैंकमा तरलता अभाव हुने संकेत


९ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय तरलता अभाव (लगानीयोग्य रकम)को हुने संकेत देखिएको छ । यसबाट बैंकहरुले प्रवाह गर्ने ऋणबाट आर्थिक गतिविधि लयमा फर्कन थालेको प्रष्ट हुन्छ । ऋण प्रवाह यही अनुपातमा भए क्रेडिट क्रन्चको सम्भावना नजिकिदै जाने देखिन्छ ।

नेपाल राष्ट्र बैंकमा पुस मसान्तसम्म दुई खर्ब अधिक तरलता (एक्सेस लिक्विडिटी) रहेकोमा भण्डै एक महिनाको अन्तरालमा सवा एक खर्बको तरलता बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकरण भट्टकाले अस्ति शुक्रबारसम्म बैंकिङ प्रणालीमा ७६ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको जनाउनुभएको थियो । पछिल्लो समय कर्जा विस्तार र आयात बढेसँगै बंैकिङ प्रणालीमा थुप्रिएको रकम बाहिरन थालेको भट्टले बताउनुभयो । यसले आर्थिक गतिविधि चलायमान बनाएको उहाँको भनाइ छ ।

अहिलेको लगानीको अनुपात हेर्दा केही समयमै बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव हुन सक्ने कुराको आंकलन गर्न गाह्रो छैन । तरलता अभाव भएपछि बैंकहरुले महंगो ब्याज दिएरै निक्षेप तान्ने स्थिति आउनेछ, जसले कर्जाको ब्याजदर समेत महंगो बन्न थाल्नेछ ।

पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुले ७४ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् । यो माघ महिनाको मात्र ऋण विस्तार हो । यता निक्षेप भने ५ अर्ब रुपैयाँले मात्र बढेको छ । यस अवधिसम्म वाणिज्य बैंकहरुले कुल ३३ खर्ब १७ अर्ब रुपैयाँ ऋण विस्तार गरेका छन् भने निक्षेप संकलन ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तयता निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँले बढ्दा ऋण बिस्तार ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको देखाउँछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा हेर्दा यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको हो ।

कोरोनाको कारण लामो समय लगानी गर्न नपाएका बैंकहरु पछिल्लो समय लगानी विस्तारमा आक्रामक देखिन थालेका छन् । राष्ट्र बैंकको निर्देशित लगानीका कारण पनि बैंकहरु ऋण विस्तारमा आक्रामक भएका हुन् । रातोपाटी

प्रतिक्रिया:

सम्बन्धित खवर