५ फाल्गुन, काठमाण्डौँ । बैतडीकी भागरथी भट्टको हत्याका अभियुक्त पक्राऊ परेका छन् । उनलाई पक्राऊ गरेको पुष्टि प्रहरीले गरेको छ ।
भागरथीको हत्या उनकै छिमेकी युवाले गरेको पत्ता लागेपछि उनलाई पक्राऊ गरिएको हो । ती युवकले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । उनलाई आज प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।
भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँबाट एक किलोमिटर पर गएर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन ।
प्रहरीले भागरथीको परिवारको सम्बन्ध राम्रो नभएकाहरु देखि नजिकका सहपाठीहरुबारे बुझ्दै जाने क्रममा ती युवकको पहिचान गरेको थियो । तर, पक्राऊ भने गरिहालेको थिएन । युवक निगरानीमा थिए । अन्तमा उनी शंकास्पद रहेको पत्ता लागेपछि पक्राऊ गरिएको थियो ।
प्रहरीले सबै प्रमाण जुटाएपछि मात्र युवक नै हत्याका अभियुक्त भएको निष्कर्षमा पुगेको थियो । डिएनए टेष्टलगायत प्रक्रिया समेत बढाएपछि मात्र प्रहरीले भागरथी भट्टको हत्याका अभियुक्तबारे खुलासा गरेको हो ।
यसअघि सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदीले दुई दिनभित्र हत्याका अभियुक्त सार्वजनिक गर्ने बताउनुभएको थियो । उहाँले हत्याका अभियुक्तको पहिचान भइसकेको खुलासा गर्नुभएको थियो ।
दोषीबारे कुनै आशंका नरहोस् भन्ने हेतु यथेष्ठ प्रमाण जुटाउन प्रहरीले अनुसन्धानमा बढी समय लगाएको थियो । सम्पूर्ण प्रमाण संकलन गरेपछि मात्र सार्वजनिक गर्ने गरी शतर्कतापूर्वक अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याउन लागेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको थियो ।
भागरथीको न्यायका लागि भएको आन्दोलन थिए अभियुक्तः
भागरथी प्रकरण कञ्चनपुरको निर्मला प्रकरण जस्तो नहोस् भन्दै स्थानीयले शुक्रबारबाट आन्दोलन र प्रदर्शन थालेका थिए । त्यही प्रदर्शनको अग्रपङ्तिमा विद्यालयको कक्षा ११ मा अध्ययनरत १८ वर्षीया अभियुक्त दिनेश भट्ट पनि सहभागी थिए ।