भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि

२७ माघ, काठमाण्डौँ । बैतडीमा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । उनको जङ्गलमा बलात्कारपछि घाँटी थिची हत्या भएको प्रहरीले पुष्टि गरेको हो ।

सुदुर पश्चिम प्रदेश प्रहरीका प्रवक्ता समेत रहनुभएका एसएसपी मुकेशकुमार सिंहले भागरथीको बलात्कारपछि हत्या भएको अनुसन्धानबाट पत्ता लागेको जानकारी दिनुभयो । पोष्टमार्टम रिपोर्टले बलात्कारपछि हत्या भएको देखिएपनि एक वा सोभन्दा बढी व्यक्ति संलग्न भएको स्पष्ट भएको छैन । यसका लागि मृतकको भेजिनल स्वाब थप परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।

बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनको शव लवलेक जङ्गलमा २२ माघमा फेला परेको थियो । माघ २१ गते उनको हत्या भएको थियो । हत्यामा संलग्न दोषी अझै पत्ता लाग्न सकेको छैन ।

सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदी स्वयं बैतडी पुगेर अनुसन्धानमा गम्भीरता देखाउनुभएके थियो । सीआइबीले पनि अनुसन्धान अगाडि बढाएको छ ।

घटनास्थल नजिकै भगिरथीको मोबाइल भेटिएको छ । त्यही फोनकै आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको बुझिएको छ । अब छिट्टै दोषी पत्ता लाग्ने प्रहरी स्रोतले जनाएको छ । प्रहरीले शंकास्पदहरुलाई नियन्त्रणमा लिई सोधपुछ अगाडि बढाएको छ ।

किशोरी भागरथी भट्टको झाँडीमा फेला परेको शवसँगै झोला पनि थियो । बैतडीको लवलेक जङ्गलको खोचलेक गिरेगडा सडकबाट ३० मिटर मुनीको झाडीमा शव उत्तानो अवस्थामा फेला परेको थियो ।

सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत भागरथीको घर र विद्यालयबीच जङ्गल पर्दछ । एक घन्टा पैदल दूरीमा पर्ने जङ्गलबाट घर फर्कने क्रममा भागरथी वेपत्ता भएकी थिइन् । विद्यालय छुटेपछि उनी हतार छ भनेर साथीलाई छाडेर गएकी थिइन् । सँगै हिंडेका केटा साथी कपाल काट्न छिरेपछि भागरथी फर्किएकी थिइन् । तर, उनी घर पुगिनन् ।

साँझसम्म घर नफर्किएपछि उनको खोजी भएको थियो । दुई महिना अघि मात्र उनको पिताको मृत्यु भएको थियो । घरमा आमा थिइन् । दाजु भारतमा रोजगारीका लागि गएका छन् । दाजुले दिएको सिमकार्ड भागरथी चलाउँथिन् । उनको घर क्षेत्रमा भारतीय सिमकार्डले पनि काम गर्ने भएकाले त्यसकै प्रयोग गरेकी थिइन् ।-रिपोर्टस नेपाल

प्रतिक्रिया:

सम्बन्धित खवर