प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधिशको प्रश्न ‘त्यस्तो कहाँ हुन्छ ?’

प्रधानमन्त्रीका वकिललाई प्रधानन्यायाधिशको प्रश्न ‘त्यस्तो कहाँ हुन्छ ?’

२६ माघ, काठमाण्डौँ । प्रतिनिधिसभा विघटन मुद्दामा आज प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ ।

तर प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता देखिएनन् ।

त्यसपछि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रश्न गर्नुभयो– ‘प्रधानमन्त्री ज्यूको तर्फबाट बहस सकिएको हो ?’

त्यतिबेला चार बज्न करिब आधा घण्टा मात्र बाँकी थियो । प्रधानमन्त्री निकट मानिने अधिवक्ता रमेश बडाल सरकार पक्षका वकिल बस्ने लहरबाट उठ्नुभयो । उहाँले भन्नुभयो– ‘हिजो अस्तिको समय सीमाको हिसाब गरेका थियौं, आज तयारी गरेकाहरुले सक्नुभो, हामी भोलि कन्टिन्यू गर्छाैं ।’

बडालले ‘भोलि बहस गर्ने’ भनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा झोक्किनुभयो । जबराले झोक्किँदै भन्नुभयो–‘त्यस्तो कहाँ हुन्छ, बेन्च बसिराछ ।’ बडाल जबरालाई कन्भिन्स गर्ने कोसिस गर्दै थिए । माघ ३० सम्म प्रधानमन्त्रीका वकिलले बहस सक्नुपर्ने बेन्चबाट आग्रह भएको हुनाले सो अनुसार विषय छुट्याएर तयारी गरिरहेको बडालले बताउनुभयो । तर, जबरा कन्भिन्स हुनुभएन ।

‘हुनुहुन्न् भने हुनुहुन्न’ भन्दै प्रधानन्यायाधीश कड्किनुभयो । त्यसपछि अधिवक्ता शान्तिदेवी खनाल इजलासमा उभिनुभयो । बिना तयारी लयर्स पोडियममा उभिएकी खनालले लामो पार्टी जीवनमा प्रधानमन्त्रीले अहिले सबैभन्दा ठुलो पीडा खेपेको बताउनुभयो ।

संसारमा सबैभन्दा ठुलो न्यायालय जनताको अदालत भएको दावी गर्दै उहाँले भन्नुभयो–‘राजनैतिक मुद्दामा न्याय दिने ठाउँ भनेका जनता हुन, दुई तिहाईका लागि प्रधानमन्त्री जनतामा गएर टेष्ट हुन पाउनुपर्छ ।’-रातोपाटी

प्रतिक्रिया:

सम्बन्धित खवर