१३ माघ, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको घोषणा संविधानसम्मत ढङ्गले नै गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै सरकारले निर्वाचनमार्फत नयाँ ताजा जनादेशका लागि जनतामा जाने भनेर निर्वाचनको घोषणा गरेको स्पष्ट पार्नुभयो ।
सरकारले घोषणा गरेकै समयमा चुनाव हुने स्पष्ट गर्दै उहाँले निर्वाचनको तयारीमा जुट्न नेताकार्यकर्तालाई आग्रह गर्नुभयो । आफ्नो दलले नेकपाका कोही कसैलाई कारवाही नगरेको बताउँदै भन्नुभयो–‘गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौँ ।’ उहाँले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताउनुभयो ।
उहाँले जनतालाई अधिकारसम्पन्न बनाउन, अधिकार प्रयोग गर्न अधिकारसम्म पुग्ने अवसरमा पहुँच निर्माण गर्न, अवसरको उपलब्धता, सामाजिक न्याय र समानता, पछाडि परेका समुदायको उत्थान, सुशासनसहितको समृद्धिको मार्गमा अघि बढ्ने र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आफूहरुको मुख्य लक्ष्य तथा विकासका पूर्वाधार निर्माणमा सरकार तीव्र गतिमा अघि बढेको बताउनुभयो ।
उहाँले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखुरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइने समेत बताउनुभयो ।
उहाँले कोरोना नियन्त्रणका लागि सरकार लागिपरेको र सङ्क्रमण नियन्त्रणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मी, विमानस्थल र शववाहनमा काम गर्ने सबैलाई खोप लगाइने जानकारी दिँदै पहिलो चरणमा चार लाख ३० हजार खोप लगाएर कोरोना नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाइने दृढता व्यक्त गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले जनतामा जानु भनेको लोकतन्त्र बलियो हुनु हो भन्दै जनताका बीचमा जान नचाहनेहरु कायर भएको आरोप लगाउनुभयो ।
पार्टीका जिल्ला संयोजक हुकुम बुढाथोकीका अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, खानेपानीमन्त्री मणिचन्द्र थापालगायतले निर्वाचनबाट ताजा जनादेशमा जानुको विकल्प नरहेको बताउनुभयो । सभाअघि जिल्लाका विभिन्न क्षेत्रबाट जनसमुदायले विभिन्न झांँकीसहित जुलुस प्रदर्शन गरेका थिए । रासस