५ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी आफू निकट युवाविद्यार्थीलाई आक्रामक बन्न निर्देशन दिनुभएको छ । उहाँले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनीयन (अनेरास्ववियू)को उपत्यकास्तरीय भेलालाई आज राजधानीमा सम्बोधन गर्दै संसद विघटनविरुद्धको आन्दोलनमा आक्रामक बन्न निर्देशन दिनुभएको हो ।
‘सिंह जस्तै गर्जेर प्रतिक्रान्तिकारी हल्लिनुपर्छ,’ प्रचण्डले भन्नुभयो,‘किन किन के चिलाएको हो ? टाउको चिलाएको छ, लाठी खान मन छ योपटक ।’ उहाँले विगतमा गिरिजाप्रसाद कोइरालाले पनि आन्दोलनका क्रममा लाठी खाएको स्मरण गर्दै आफू पनि तयार भएको बताउनुभयो ।
उहाँले युवाविद्यार्थीलाई अझै कडा रुपमा प्रस्तुत हुन आव्हान गर्नुभयो । साकाहारी आन्दोलनले मात्र नपुग्ने बताउनुभयो । उहाँले अबको आन्दोलन हिंसात्मक हुनसक्ने संकेत गर्नुभयो ।
माघ ९ गते उपत्यकामा नेकपाको प्रचण्ड माधव समूहले शक्ति प्रदर्शन गर्न लाग्दा प्रचण्डको आक्रामक अभिव्यक्ति आएको हो । यसले अबको आन्दोलन हिंसात्मक हुने संकेत समेत गरेको छ ।