४ माघ, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विधिको शासन कमजोर हुने गतिविधि नगर्न राजनैतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।
अखिल नेपाल महिला सङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था तथा विधिको शासनलाई कमजोर बनाउने गतिविधि नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले राजनैतिक दलका गतिविधिले निर्वाचन आयोग, न्यायालय लगायतका संस्थाको काममा अवरोध पुर्याउँदा लोकतन्त्र कमजोर हुने अवस्था आएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिले गरेका काम तथा निर्णयका बारेमा राष्ट्रपति पदको गरिमा र मर्यादा विपरीतको गतिविधि नगर्न समेत आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपतिका सबै निर्णय र कामहरू नेपालको प्रचलित कानुन अनुसार प्रधानमन्त्री वा मन्त्रिपरिषद्को सिफारिसमा भएको हुनाले त्यसमाथि उठेका सबै प्रश्नको जवाफ दिन आफु तयार रहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीभित्र सधैँ विरोध मात्रै गर्ने र काम गर्नै नदिने गतिविधिका कारण कारबाही गरेर निकाल्नुपर्ने अवस्था आएका बेला केही व्यक्तिहरू आफै निस्किएर गएका हुनाले अब पार्टी समेत निर्बाध रूपमा अगाडि बढ्ने बताउनुभयो ।
सरकारले तत्कालीन नेकपा माओवादीले संञ्चालन गरेको सशस्त्र विद्रोहका सबै लडाकु तथा घाइतेहरूको यथोचित सम्मान र व्यवस्थापनको व्यवस्था गर्ने बताउनुहुँदै प्रधानमन्त्री ओलीले विगतको घटना र संलग्नता लाई लिएर विचलित नभई एकताबद्ध हुन सबै कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभयो ।
यस्तै आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको समेत बताउनुभएको छ । आफुले संविधानसम्मत तथा कानूनसम्मत काम गरेकोले जवाफदेहिता लिने उहाँको भनाई छ । आफुले गरेको काम लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रको सार्वभौमसत्ताको पक्षमा रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले स्वतन्त्र न्यायपालिकाको मर्यादामाथि हमला गर्ने तथा हुर्मत लिने काम गरेको बताउनुभयो । निर्वाचन आयोगलाई निर्वाचन नर्गन आग्रह गरेर लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको विपरित लागेको उहाँको भनाई छ । उहाँले पार्टी विभिन्न गुट उपगुटमा विभक्त भएकाले एकीकरण प्रक्रिया सम्पन्न हुन नसकेको बताउनुभयो । विगत ३ वर्षको अवधिमा पार्टीको नीति, उद्देश्य, गन्तव्य केही नभएको उहाँको भनाई छ ।