३ माघ, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित प्रदेश–१ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा ओलीले सूर्य चिह्नबाट एकपटक पनि चुनाव नलडेका प्रचण्डले अहिले सूर्य चिह्न आफ्नै हो भन्ने अधिकार नभएको पनि बताउनुभयो ।
‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । आफू र प्रचण्डबीच २०७४ असोज १४ गते सूर्यमै चुनाव लड्ने सहमति भए पनि दुई दिनमै उक्त सहमित तोडिएको पनि उहाँले बताउनुभयो ।
सूर्य चिह्न भएका कार्यकर्ताले समेत अर्काे चिह्नमा भोट हालेर मात्रै प्रचण्डले जितेको उहाँको भनाई थियो ।
यस्तै देशका राष्ट्रपति, प्रधानमन्त्री, सर्वाेच्च अदालत, निर्वाचन आयोग लगायतमाथि अनावश्यक दबाब दिने र गाली बेइज्जती गरेको भन्दै ओलीले आक्रोश व्यक्त गर्नुभयो ।
पार्टी अध्यक्ष रहेको आफूविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक र सञ्चारमाध्यमहरुमा गएर बोल्ने काम भएको पनि उहाँले आरोप लगाउनुभयो ।