काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै

काँग्रेसले शनिबार देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दै


३ माघ, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आज (शनिबार) प्रतिनिधिसभा विघटनविरुद्ध देशभरका स्थानिय तहहरुमा विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको कदमविरुद्ध काँग्रेसले आज दोस्रो चरणको आन्दोलनअन्तर्गत सात सय ५३ गाउँ तथा नगरपालिकामा विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध काँग्रेस चरणवद्ध रुपमा देशव्यापी प्रदर्शन गरिरहेको छ ।

यस्तै काँग्रेसले आउदो माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोनअन्तर्गत गत पौष २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

यस्तै पहिले चरणअन्तर्गत गत पौष १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

आजको विरोध प्रदर्शनमा सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन काँग्रेस सभापति शेरबहादुर देउवाले (हिजो नै अपिल गर्नुभएको छ ।

पार्टीको सबै तहका नेता कार्यकर्ताहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न देउवाको अपिल छ । यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले हिजै भिडियो सन्देशमार्फत प्रधानमन्त्री ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गर्नुभएको छ ।

काँग्रेसका शीर्ष नेताहरु पनि विरोधसभामै सहभागी हुने कार्यक्रम छ । सभापति देउवाले काठमाडौं, वरिष्ठ नेता पौडेले चितवनको शारदानगरमा विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै महामन्त्री डा. शशांक कोइरालाले नवलपुरको देवचुली नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वमहामन्त्री प्रकाशमानसिहले काठमाडौँ महानगरपालिका र नेता गगन थापाले बूढानीलकण्ठको हात्तीगौंडा र ललितपुरको महाकाल गाउँपालिकामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । यस्तै नेता डा. मिनेन्द्र रिजालले नेपालगञ्ज र डा. शेखर कोइरालाले मोरङका दुई वटा विरोधसभामा सम्बोधन गर्ने कार्यतालिका छ ।

नेता प्रदीप पौडेलले विराटनगर र प्रवक्ता विश्वप्रकाश शर्माले भक्तपुरमा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् । यस्तै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले नुवाकोटको देवीघाटम हुने विरोधसभा सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सहमहामन्त्री प्रकाशरण महतले कागेश्वरी मनोहरा नगरपालिका र गोठाटारको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेता धनराज गुरुङ्ग चितवनको खैरेहनीमा र प्रकाश रसाइली स्नेही हेटौडाको विरोसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै नेता गुरुराज घिमिरे र नैनसिह महर काभ्रे जाने कार्यक्रम तय भएको छ । नेता वीरबहादुर बलायरले डोटीमा र जीवन बहादुर शाहीले मुगुको रुसकोट, माँझचौर, खत्याडको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै काँग्रेसका केन्द्रीय अधिकांश नेताहरुले पनि गृहजिल्लाको विरोधसभामा सहभागी हुँदै छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर