परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमण आजबाट


१ माघ, काठमाण्डौँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज भारत भ्रमणमा जाँदैहुनुन्छ । उहाँ तीन दिने भारत भ्रमणका लागि भारत प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उठाउने मुद्दा र छलफलका विषयका बारेमा परराष्ट्र मन्त्रालयले मङ्गलबार नै जानकारी गराइसक्नुभएको छ ।

नेपालले सीमा समस्याको विषय उठाउने भएपनि भारतीय पक्षले त्यसबारे कुरा नगर्ने भएको छ । नेपालले कालापानी क्षेत्रको विवाद समाधानका विषयमा कुरा उठाउने भएको छ । तर, भारतीय पक्ष यसबारे कुरै गर्ने पक्षमा नभएको बुझिएको छ ।

उच्च स्रोतका अनुसार भारतले यसपटक सीमा विवादका विषयमा कुनै छलफल नगर्ने भएको हो । चुनाव घोषणा भइसकेकाले भारतले सरकारलाई कामचलाऊका रुपमा लिएको बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र फिर्ता ल्याउने बारे कुराकानी हुने बताउनुभएको थियो । उहाँले उक्त क्षेत्र फिर्ता ल्याएर देखाउने बताउनुभएको थियो । तर, भारतले ओली सरकारलाई चुनावी सरकार मानेर सीमाको विषयमा कुनै छलफल नगर्ने गरी तयारी गरेपछि यो नेपालले उठाउने विषयमा सिमित हुने देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग समेटेर नयाँ नक्शा जारी गरी संसदबाट निशान छाप पारित गरिसकेको छ । यो कदमप्रति भारत असन्तुष्ट छ । नेपालले उक्त भू–भाग फिर्ता गर्न भारतसँग आग्रह गर्दै आएको छ । यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउँदा पनि नेपालले सीमा समस्या समाधानको विषय उठाएको थियो ।

परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्तिमार्फत छलफलको एजेन्डामा व्यापार, पारवहन, ऊर्जा, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति, कोभिड १९ विरुद्ध सहकार्य सहित सीमाको विषय पनि उल्लेख गरेको छ ।

यसपटकको भ्रमणमा भारतले कोरोना महामारी विरुद्धको खोपबारे कुराकानी बढी केन्द्रित हुने बुझिएको छ । परराष्ट्र मन्त्रीको साथमा स्वास्थ्य सचिव पनि सँगै जाने भएकाले यसबारे गम्भीर कुराकानी हुने बुझिएको छ । नेपालसँग सीमा जोडिएकाले भारत खोप नेपालमा पनि जटिसक्दो छिटो प्रयोगमा आओस् भन्ने चाहिरहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर