२४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि परिवारवादको आरोप लगाउनुभएको छ । धनगढीमा नेकपाको आफ्नो समूहको सभामा बोल्दै ओलीले प्रचण्ड छोरीबुहारी र आफन्तलाई पद र शक्तिमा लान केन्द्रित भएको आरोप लगाउनुभएको हो ।
‘जसलाई छोरीहरु र बुहारीहरुको मतलब छ, जनताको मतलब छैन,’ ओलीले प्रचण्डप्रति संकेत गर्दै भन्नुभयो, ‘ध्यान कता छः छोरी बुहारी, भाई भतिजा, आफन्त, भाञ्जो, साली, नाति ।’ उहाँले आफ्नो पार्टी सम्धीवाला, छोरीबुहारीवाला र भाइभतिजावाला पार्टी नभएको दाबी गर्नुभयो ।
प्रचण्डले छोरी रेणु दाहाललाई मेयर र बुहारी विना मगरलाई मन्त्री बनाएको घटनातर्फ ओलीले पटक पटक संकेत गर्नुभयो । उहाँले माधव नेपालले पनि आफन्तलाई पदमा पुर्याएको संकेत गर्नुभयो ।
प्रचण्ड र माधव नेपालको पटक पटक आलोचना गरेका ओलीले जनता र कार्यकर्ताको हितमा काम नगरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘एक दर्जनभन्दा बढी तर मारेका छन् । क–कस्का आफन्त कहाँ कहाँ छन् प्रष्ट छ ।’ आफूले कहिले पनि परिवार, आफन्तका लागि राजनीति नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, मेरो कोही आफन्त कहीं टपक्कै टिपेर एकजना राखेको देखाइदेओस् ।’
ओलीले प्रचण्ड र माधव नेपाललाई १० सिट जितेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘देशभर १० सिट जितेर देखाउन् ।’ ओली र प्रचण्डलाई भगौडाको संज्ञा दिनुभयो ।