२० पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड समूहले आफ्ना नेताहरुलाई जिम्मेवारी बाँडफाँडको निर्णय गर्न थालेका छन् । आज बसेको बैठकले एकीकरणको बाँकी कामका लागि सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १२ सदस्यीय गृहकार्य टोली गठन गरेको छ ।
टोलीमा भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, वर्षमान पुन, गिरिराजमणि पोखरेल, गोकर्ण बिष्ट, जर्नादन शर्मा, पम्फा भुसाल, घनश्याम भुसाल, लिलामणि पोखरेल, मातृका यादव र डा. वेदुराम भुसाल रहेका बताईएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार टोलीले प्रदेश, जिल्ला, जनवर्गीय संगठन लगायत तल्लो इकाईको पदाधिकारीबारे सात दिनभित्र सझुाव दिनेछ । त्यसलाई चाँडै कार्यान्वयनमा लगिने छ ।
यसैगरी, बैठकले प्रतिनिधिसभा बिघटनविरुद्धको संघर्ष समितको सहसंयोजकमा दुई सदस्य थपेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको समितिमा योगेश भट्टराई सहसंयोजक रहेकोमा पम्फा भुसाल र गणेश साह थपिएका छन् ।