१८ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैलाउने काम नगर्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन प्रवासी नेपाली एकता मंञ्चको कार्यक्रममा सञ्चार एप्लीकेसन जुम मार्फत आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले दलहरूको अल्पमत र बहुमतको विबाद आगामी निर्वाचनको परिणमले समाधान गर्न हुनाले अहिले जनतामा निराशा आउने काम नगर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले निराश जनता देशको विकास र अग्रगमनका लागि घातक हुने हुनाले जनतामा आशा जगाउने काम गर्न सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार प्रमुख तथा पार्टी अध्यक्षका रूपमा आफुले नेपाली जनतामा आशा जगाउने काम गरिरहेको भएपनि आफ्नै पार्टीका नेताहरूबाट सहयोग पाउन नसकेको बताउनुभयो ।
यस्तै आज बालुवाटारमा नेपाल स्काउटद्वारा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना स्वार्थका लागि कार्यकर्ता भिडाउने र देशमा अस्थिरता ल्याउने फोहोरी राजनीतिविरुद्ध आफू लाग्ने बताउनुभएमने छ । उहाँले बालबालिकाले त्यस्ता फोहोरी राजनीतिबाट प्रभावित नभई इमानदार, विवेकशील र जनताको सेवा गर्ने क्षेत्रका रुपमा राजनीतिलाई बुझ्न आग्रह गर्नुभयो ।
उहाँले बालबालिकाले प्रत्यक्ष राजनीतिमा लाग्न नहुने तर यसलाई ढाँटछल, संविधानविरोधी तथा बेइमानीका रुपमा नबुझ्न आग्रह गर्दै राजनीति बिग्रिएमा त्यसलाई सही बाटोमा ल्याउने कामको नेतृत्व आफूले गर्ने अवगत गराउनुभएको छ । त्यसैगरी ओलीले आफूलाई विरोध गर्नेहरु कोही नजिक आएर नबुझिकन विरोध गर्ने, कोही विरोधका लागि विरोध गर्ने र कोहीले सत्यलाई असत्य ठानेर स्वार्थवश अर्काे दलमा भएका कारण विरोध गर्ने गरेको बताउनुभयो ।