१४ पौष, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–माधव नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओली समूहलाई सकेको गर्न चेतावनी दिनुभएको छ । आफूहरु तयारी अवस्थामा रहेको पनि दाहालको भनाई छ । आज भृकुटीमण्डपमा आयोजित विरोध सभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भोलिदेखि कडा खालको आन्दोलन गर्ने घोषणा गर्नुभएको छ । दाहालले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष गर्नुभयो । उहाँले सम्बोधनको क्रममा भन्नुभयो ‘भोलि नै योभन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्दैछौं, हामी अन्तिम समयसम्म लड्छौं । हामी छोड्नेवाला छैनौं । तपाइँहरूले के–के गर्न सक्ने हो गरे हुन्छ ।’
यस्तै सोही समुहका अर्का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उहाँको प्रवृत्तिको आयु सकिएको बताउनुभयो । ‘निरंकुशताको बाटो समातेका केपी ओली र ओली प्रवृत्तिको आयु सकियो । नेपाली जनता दृढताका विरुद्ध उभिएका छन’, नेता नेपालले सम्बोधनका क्रममा ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताउनुभयो । ‘जुनसुकै कोणबाट हेर्दा पनि त्यो कदम अनुपयुक्त छ । स्वीकार्य छैन । असंवैधनिक कदमलाई अस्वीकार गर्न आन्दोलनको उद्घोष गरेका हौँ,’ नेता नेपालको भनाइ थियो ।
गणतन्त्रको आन्दोलन चलेका बेला खिसिट्युरी गरेर बलयगाढा चढेर गणतन्त्र आउदैन भनेर ओलीले भनेको स्मरण गर्दै नेता नेपालले ओलीले चालेको असंवैधानिक कदमपछि पार्टी अध्यक्षबाट हटाएको बताउनुभयो । ‘अझै उहाँ सुध्रनुहुन्छ कि भनेर पार्टी सदस्यबाट हटाएका छैनौँ,’ नेपालको भनाइ छ । अझै पनि ओलीले पश्चाताप र गल्ती स्वीकार गरेमा सबै कुरा बिर्सन तयार रहेको नेता नेपालले जनाउनुभयो ।
केही नेताहरु अझैपनि ओलीलाई मनाउने प्रयासमा रहेको भन्दै बालुवटारको बालुवा पेलेर तेल निकाल्ने प्रयासमा लागेका नेताहरुलाई शुभकामना दिनुभयो । उहाँले संविधान र कानुन मिच्ने प्रवृतिको विरोधमा सबै शक्तिले साथ दिनेमा आफु विश्वस्त रहेको पनि बताउनुभयो ।
नेकपा र सूर्य चिन्ह नेकपा कै हुने भन्दै सूर्य कसको पक्षमा जाने हो भनेर भ्रममा नपर्न पनि नेता नेपालले आग्रह गर्नुभयो ।