१२ पौष, काठमाण्डौँ । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर गोली चलाएका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।
विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको स्रोतले बताएको छ ।
प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।
गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेका छन् भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएका छन् ।