कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

कांग्रेस बैठकमा देउवा र पौडेलबीच चर्काचर्की

८ पौष, काठमाण्डौँ । संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा पक्ष सर्वाेच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले देउवाले मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लाग्नुभएको छ ।

मंगलबारको बैठकमा केन्द्रीय समितिका चार नेता बोलेका थिए । आज पनि केन्द्रीय कार्यसमिति बैठक केहीबेर बस्यो र चार जना बोलेर सकियो ।

चार नेता बोलेपछि सभापति देउवाले अहिले नै सडकमा जान हतार गर्न नहुने आशय व्यक्त गर्नुभयो । संसद विघटनबारे परेको रिटमा सर्वाेच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने उहाँको तर्क थियो ।
तर वरिष्ठ नेता पौडेलले त्यसको प्रतिवाद गर्नुभयो । ‘कसले के भन्छ भन्ने छाडौं, कमसेकम हामीले के गर्ने त्यो भनौं’ उहाँले भन्नुभयो, ‘संसद विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर सडक जाऔं ।’

उत्तरमा देउवाले थप्नुभयो, ‘मैले सुनेको छु । सबैको धारणा सुनेर मात्रै निर्णयमा पुग्ने हो । बरू रामचन्द्रजीलाई सुनाउनुस्, मलाई के भन्नुहुन्छ?’

बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की नै भएको थियो । त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ । एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ ।

बैठकमा वरिष्ठ नेता पौडेलले सडकमा जानुपर्छ भन्दा सभापति देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए । तर त्यो दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका दिन विरोध कार्यक्रम ? भन्दै नेताहरूले प्रश्न गरेपछि त्यसअघि नै देशभर प्रदर्शन गर्ने तयारी गरिएको एक नेताले सुनाए ।

प्रतिक्रिया:

सम्बन्धित खवर