नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा

नेकपा विवाद झनै जटिलः वामदेव नयाँ पार्टी बनाउने तयारीमा

६ पौष, काठमाण्डौँ । नेकपा विवादको बिषय झनै जटिल बनेको अवस्थामा नेताहरुको आ–आफ्नो तयारी थालेका छन् । नेकपाको हालको सचिवालय सदस्यहरुले कित्ता काट गरिसकेका छन् । जस अनुसार ओली पक्षमा कुल चार सचिवालय सदस्य र प्रचण्ड पक्षमा पनि चारजनानै सचिवालय सदस्य छन् । यसमा वामदेव गौतमले भने कुनै गुटमा नरहेको सन्देश दिन सुरु गर्नुभएको छ ।

अब नेकपा फुटको घोषणा हुनमात्र बाँकी अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एकै दिन चालेका कदमहरुले नेकपालाई दुर्घटनाको अवस्थामा लगेको छ । नेकपा नेताहरु यो घटनासँगै कित्ता काटमा लागेका हुन् ।

ओलीमाथि प्रचण्ड समूहले कारबाहीको सिफारिश गरिसकेको छ । स्थायी कमिटीले निर्णय गरेको सिफारिश केन्द्रीय समितिबाट टुंग्याउने तयारी छ । यो निर्णयसँगै नेकपाको औपचारिक विभाजन हुनसक्छ ।

नेकपा विभाजन भएमा वामदेव कता लाग्ने ? यो चासो बढेको छ । गौतम निकट स्रोतका अनुसार उहाँ कुनैपनि दलमा लाग्ने छैनन् । निकट स्रोत भन्छ, ‘उपाध्यक्षज्यू कुनै गुटमा हुनुहन्न । पार्टी विभाजन नै भएको अवस्थामा गौतमको आफ्नै तयारी भइसकेको छ ।’ स्रोतका अनुसार उहाँ छुट्टै दल खोल्ने तयारीमा लागिसक्नुभएको छ । ओली र प्रचण्ड दुवैको अलग दल भएमा गौतमको पनि अलग दल हुने बुझिएको छ ।

तर, गौतम अहिलेको सरकारमा सहभागी हुने या नहुने निश्चित भएको छैन । उहाँलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको प्रस्ताव आएको छ । त्यसमा उहाँ सकारात्मक बन्दै गएको बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर