प्रधानमन्त्री ओलीको सक्रियता बढ्योः खुमलटार देखी पुल्चोक हुदै शीतलनिवास सम्म !

प्रधानमन्त्री ओलीको सक्रियता बढ्योः खुमलटार देखी पुल्चोक हुदै शीतलनिवास सम्म !


४ पौष, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप र सक्रियता बढेको छ । आज मात्रै ओलीले तीन वटा महत्वपुर्ण राजनीतिक भेटघाट गर्नुभएको छ ।

यसअघि त्यस्ता भेटघाट गर्दा बालुवाटारमै गर्ने ओेलीले आज भने आफै बाहिर निस्कनुभयो । त्यसका लागि उहाँ आज बिहान ११ बजे पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुग्नुभयो भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतलनिवास पुग्नुभयो ।

करिव ६ बजे शीतलनिवास पुग्नुभएका ओली र राष्ट्रपति भण्डारीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको बुझिएको छ । यसअघि आजै बिहान खुमलटारबाट बालुवाटार फर्कदा ओली मन्त्रीहरुको निवास पुल्चोक पसेर गृहमन्त्रीसहित अन्य चार मन्त्रीहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओलीको दौडधुपलाई अर्थपुर्ण रुपमा लिइएको छ । प्रधानमन्त्री ओलीले गत मंगलबार मात्र अध्यादेश ल्याउनुभएको थियो ।

त्यसपछि उहाँको चौतर्फी आलोचाना हुनुका साथै अध्यादेश फिर्ता लिन दवाव परेको छ । नेकपाले उक्त अध्यादेश फिर्ता गर्न निर्देशनदिएपनि प्रधानमन्त्री ओलीले राजनीतिक सहमति नजुट्दासम्म फिर्ता नलिने बताउदै आउनुभएको छ ।

ओलीको वामदेव कार्डः
नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली आज बिहानै प्रचण्डनिवास खुमलटारमा प्रवेश गर्नुभयो । प्रधानमन्त्री पुगेको १५ मिनेट पनि नबित्दै उपाध्यक्ष वामदेव गौतम पहेंलो टोपी लगाएर प्रचण्डनिवासमा देखा पर्नुभयो । ओली सँगसँगै जस्तो गरी प्रचण्डनिवासमा पुग्नुभएका उपाध्यक्ष गौतमको उपस्थिति अर्थपूर्ण देखिएको नेकपाका नेताहरु बताउँछन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने आश्वासन दिन थाल्नुभएको स्रोतको भनाई छ । पौष १ गते बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमतर्फ पुलुक्क हेर्दै अब प्रधानमन्त्री फेर्ने नै भए नयाँलाई बनाउनुपर्ने बताउनुभएको थियो ।

स्थायी कमिटीमा ओलीको यस्तो भाषण सुनेपछि उपाध्यक्ष गौतम उत्साहित बन्नुभएको थियो । बैठकलगत्तै उहाँले आफू निकटस्थहरुलाई टेलिफोन गरेर ओलीजीले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव बैठकमै राखेको सुनाउनुभयो ।
नेकपा स्रोतका अनुसार आज खुमलटारको भेटमा पनि प्रधानमन्त्री ओलीले आफूले छाड्नुपरे वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको छ । यद्यपि यसबारे औपचारिक प्रतिक्रिया दिन कसैले मानेका छैनन् ।

वामदेव राष्ट्रियसभाको सदस्य भएका कारण संविधानको अहिलेको प्रावधानअनुसार उहाँ प्रधानमन्त्री बन्न मिल्दैन । गौतमलाई प्रधानमन्त्री बनाउने हो भने ‘राष्ट्रियसभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने’ प्रावधानसहित दुईतिहाई बहुमतबाट संविधान संशोधन गर्नुपर्ने हुन्छ ।

स्थायी कमिटीका एक सदस्यका अनुसार पौष १ गतेको बैठकमा प्रधानमन्त्री ओलीले यही कार्यकालमा प्रधानमन्त्री बनाउन भन्नुभएको होइन । आगामी चुनावसम्म आफैं प्रधानमन्त्री रहने र अर्काे चुनावपछि नयाँलाई बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइको सार रहेको ती नेताले बताए ।

तर, आज खुमलटारमा भने प्रधानमान्त्री ओलीले यही कार्यकालमै वामदेवलाई बनाउनुपर्ने प्रस्ताव राखेको स्रोतले बतायो । जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले त्यसमा आफूहरुको विमती नरहेको बताउनुभयो । त्यसका लागि तपाईले पहिला राजीनामा दिनुस् न त भन्दा ओलीले अस्वीकार गरेको स्रोतको दाबी छ ।

पार्टीको ९ सदस्यीय सचिवालयमा बहुमत जुटाउनका लागि वामदेव गौतम र रामबहादुर थापा बादलको साथ लिन खोजिरहेका प्रधानमन्त्री ओली आज खुमलटारबाट फर्कँदा पुल्चोकस्थित वादलको सरकारी निवासमा केहीबेर छिर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर