एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन

एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न निर्देशन


२ पौष, काठमाण्डौँ । संसदीय समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई रकम भुक्तानीका लागि निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तव उखुको रकम भुक्तानी नदिएको भन्दै किसान आन्दोलित बनेपछि समितिले एक साताभित्र भुक्तानी सकेर प्रतिवेदन पेश गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिइएको बताउनुभयो ।

समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

लामो समयदेखि केही चिनी उद्योग बन्द भएका र अन्य उद्योगले समेत श्रमिकलाई बेवास्ता गर्ने गरेको सूचना समितिमा आएको भन्दै स्थलगतरुपमा अध्ययन गरेर समस्या समाधानको व्यवस्था मिलाई विवरण उपलब्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिइएको सभापति श्रीवास्तवले जनाकारी दिनुभयो ।

यस्तै लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिलले तीन दिनभित्र बाँकी रकम भुक्तानी गरिसक्ने सहमति जनाएको उद्योग मन्त्रालयले जनाएको छ । समितिको बैठकमा उद्योगमन्त्री लेखराज भट्टले श्रीराम मिलका सञ्चालकले तीन दिनभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीराम सुगर मिलका सञ्चालकले शुक्रबारबाट तीन दिनभित्र बाँकी सबै रकम किसानको खातामा राख्ने सहमति गरेको छ । उद्योग मन्त्रालयको तथ्याङ्कअनुसार श्रीरामले रु ३५ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

गत वर्षको पौष १८ गते सरकार, चिनी मिल र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार महालक्ष्मी सुगर मिलको रु २० करोड, लुम्बिनी चिनी मिलको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिलको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिलको रु १७ करोड र श्रीराम सुगर मिलको रु ३५ करोड गरी पाँच चिनी मिलबाट रु ६५ करोड ३१ लाख रकम भुक्तानी गर्न बाँकी छ ।

-रासस

प्रतिक्रिया:

सम्बन्धित खवर