३० मंसिर, काठमाण्डौँ । नेकपाभित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अध्यादेश जारी गर्नुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको हो ।
पार्टीमा विवाद कायमै रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान बोलाएको संवैधानिक परिषद्को बैठक सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित हुन पुगेको थियो । यस्तै २८ गतेपनि सभामुखसहित काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित नभएपछि स्थगित भएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा माग्नुभएको छ । मंसिर २८ को स्थायी कमिटी बैठकलगत्तै ओलीले राजीनामा मागेपछि प्रमुख सचेतक गुरुङले यसलाई पार्टीमा सर्वसत्तावादी प्रवृत्तिका रुपमा टिप्पणी गर्नुभएको छ । ‘मैले पार्टीको संगठनात्मक विषयमा बोल्ने गरेको छैन । सधैं राजनीतिक तथा वैचारिक विषयमा बोलेको छु’ उहाँले भन्नुभयो ।
पार्टी कमिटीको निर्णयले मात्रै कसैको जिम्मेवारी हेरफेर हुनसक्ने गुरुङले बताउनुभयो ।
नेकपा संसदीय दलका नेता समेत रहनुभएका ओलीले आफ्नो विरुद्धको गुट गतिविधिमा लागेको भन्दै गुरुङको राजीनामा माग्नुभएको हो । तर कुनै व्यक्तिको चाहना र इच्छाका आधारमा लेनदेन गर्ने विषय नभएको प्रमुख सचेतक गुरुङ बताउँनुहुन्छ ।
वैचारिक तथा राजनीतिक विषयमा भिन्न मत राखेकै आधारमा निषेध गर्ने प्रवृत्ति पार्टीमा देखिएको उहाँको आरोप छ । ‘कमिटीको संगठनात्मक निर्णयअनुसार पार्टी चल्नुपर्छ, नेताहरुबीच आपसी समन्वयमा त्यो काम हुनुपर्छ’ गुरुङ भन्नुहुन्छ । तर, एकाधिकारवादी चिन्तन त्याग्नुपर्ने उहाँको तर्क छ ।