२५ मंसिर, काठमाण्डौँ । गृह मन्त्रालयले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक गतिविधितर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ ।
विप्लव समूहले मोरङको मिक्लाजुङमा शिक्षकको हत्या गरेको भोलिपल्ट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बोलाउनुभएको हो ।
गृह मन्त्रालयमा बसेको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो । उहाँहरुले विप्लव समूहको पछिल्लो गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियो ।
छलफल विप्लव समूहको गतिविधि, त्यसमा पनि मिक्लाजुङमा शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा बढी केन्द्रित थियो । विप्लव समूहले हिजोका दिनमा कालोमोसो दल्ने, विष्फोटनका घटना गराएर तर्साउने गरेको भएपनि पछिल्लो समय नीति परिवर्तन गरेको देखिएको गृहमन्त्री बादलको विश्लेषण छ ।
शिक्षक श्रेष्ठ हत्याको विप्लव समूहले जिम्मेवारी लिइसकेकाले सुरक्षा तैनाथीलाई थप बढाएर निगरानीलाई सशक्त बनाउनुपर्ने गृहमन्त्री थापाको जिकिर थियो । ‘हिजोसम्म उनीहरु व्यक्ति हत्याको नीति नरहेको बताउने बताउँथे । अब निहत्था नागरिकको हत्या भइसकेको अवस्थामा थप आक्रमक हुनू भन्ने निर्देशन छ’, एक सुरक्षा अधिकारीले बताए ।