मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या

मोरङको मिक्लाजुङमा विप्लव समूहद्धारा शिक्षकको हत्या

२३ मंसिर, मोरङ । मोरङको मिक्लाजुङमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा शिक्षकको हत्या भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा आज बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले उल्लेख गरेको छ ।

५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर विप्लव समूहले हत्या गरेको प्रहरीले जनाएको छ ।

मक्लाजुङ गाउँपालिका–१ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार आज बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए ।

शिक्षकलाई घरबाट लिएर गएको केही समयपछि हत्या गरेको खबर आएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार शिक्षक श्रेष्ठ गाउँमै रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै आएका छन् । ‘उहाँको घर अलिक माथि नै पर्छ,’ अध्यक्ष राईले भन्नुभयो, ‘घरदेखि केही पर जंगलमा हत्या भएको छ । हामी जाने तयारी गर्दैछौं ।’

स्रोतका अनुसार मिक्लाजुङ गाउँपालिकाको माथिल्लो भाग विप्लव समूहको सैन्य अभ्यास गर्ने क्षेत्र हो । पाँचथर, इलाम धनकुटा र मोरङको सीमावर्ती क्षेत्र मिक्लाजुङमा विप्लव समूहले सैन्य अभ्यास हुँदै आएको छ । प्रहरीले विशेष सुराकीको आधारमा पटक पटक उक्त क्षेत्रमा छापामारेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर