२१ मंसिर, काठमाण्डौँ । सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयमा आज पत्रकार सम्मेलन आयोेजना गरी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गर्नुभएको हो ।
नीतिमा छिमेकी लगायत सबै मित्रराष्ट्रसँग नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उल्लेख छ ।
छिमेकी राष्ट्रहरुसँग स्वतन्त्र र सन्तुलित सम्बन्ध कायम राखिने, नेपाली भूमि छिमेकीको हित प्रतिकूल प्रयोग हुन नदिने, सीमाको सुरक्षा तथा व्यवस्थापन गरिने, साझा हितका विषयमा द्विपक्षीय, त्रिपक्षीय एवं बहुपक्षीय साझेदारी प्रवद्र्धन गर्ने लगायतका विषय समेटिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याइएको उल्लेख गर्नुभयो ।
उहाँले परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको पनि बताउनुभयो ।