अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई

अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने ओलीको अडान, विबाद मिलाउने जिम्मा स्थायी कमिटीलाई


२० मंसिर, काठमाण्डौँ । ‘मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन खोजिरहनुभएको होला तर म दुवै पद छाड्दिनँ,’ आज नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा रातो ज्याकेटमा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभयो । उहाँले पार्टीभित्र बहुमतका आधारमा आफूलाई हटाउन नसकिने समेत बताउनुभयो । ओलीले अडान नछाड्ने संकेत गर्दै पार्टीको एकता महाधिवेशनसम्म आफू अध्यक्षमा रहने र अर्काे संसदीय चुनाव नभएसम्म प्रधानमन्त्री हुने स्पष्ट पार्नुभयो ।

ओलीले आफू सधै पदमा रहिरहने नभनेको र आगामी महाधिवेशन र संसदीय चुनावपछि पार्टी नेतृत्व र सरकारको नेतृत्व दुवै हस्तान्तरण गर्न तयार रहेको बताउनुभयो । स्रोतका अनुसार ओलीले विगतमा जस्तै पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले पार्टीभित्र आफूलाई घेराबन्दी पारी अप्ठ्यारो परिस्थिति सृजना गरी पद छाड्न वाध्य पार्न खोजिएकोमा त्यसको सामना गर्ने चुनौती समेत दिनुभयो ।

नेकपाको हाई कमाण्डको रुपमा रहेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लगिने भएको छ । आजको बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताउनुभयो । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।

‘पूर्वनिर्धारित स्थायी कमिटी भोलि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने तय भएको छ । पार्टीको संकट र निवारणका सन्दर्भमा छलफल गरेर निष्कर्ष निकालिने छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘दुबै प्रस्ताव पेश गरी छलफलमा लैजाने लगिने छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर