ओलीको जवाफी प्रस्तावले प्रचण्ड आक्रोशित

ओलीको जवाफी प्रस्तावले प्रचण्ड आक्रोशित


१३ मंसिर, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रस्ताव पेस गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पेस गरेको जवाफी पत्र सचिवालय सदस्यहरुलाई अध्ययनका लागि दिइएको छ ।

उक्त प्रस्तावमाथि अध्ययन गरेपछि मंसिर १६ गते दिउँसो एक बजे बस्ने सचिवालय बैठकमा छलफल हुने भएको छ ।

बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सच्चिनेगरि प्रस्तुत नभएको भन्दै कडा आलोचना पनि गर्नुभएको छ । बैठकमा दाहालले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टी एकता बलियो र मजबुद बनाउनको लागि हामीले आग्रह गरेको हो । तर, तपाईँ पूर्वाग्रही किन हुनुभयो ? तपाईँ सच्चिनुको सट्टा असन्तुष्टि पोख्नुभयो ? आज पनि बैठकमा तपाईँ पार्टी फुटाउने निर्णयका साथ आउनुभयो । यो गलत भयो । अझैपनि सच्चिन पहल गर्नुभएन ।’ त्यस्तै, वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीलाई सच्चिने कुनै संकेत नदिएको आरोप लगाउनुभएको स्रातले बतायो ।

आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ३८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । जसमा उहाँले यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक प्रतिवेदन खारेजीको माग गर्नुभएको छ । नेकपाको सचिवालय बैठक अब मंसिर १६ गते दिउँसो १ बजे बस्ने तय भएको छ ।

ओलीको प्रस्ताव खाममा राखेर सचिवालय सदस्यहरुलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

दुवै प्रस्तावको अध्ययन गरेर अर्काे बैठक बस्नेगरी सचिवालय बैठक सकिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले बैठकमा दुई अध्यक्षसहित नेताहरुले आफ्नो धारणा राखेको बताउनुभयो । ‘पार्टीलाई विभाजन तर्फ जान नहुनेमा नेताहरुले जोड दिनुभएको छ’, श्रेष्ठले भननुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर