५ मंसिर, काठमाण्डौँ । छैठ पर्वको मुख्य दिन आज साँझ, अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छैठ पर्व सम्पन्न हुनेगरेको छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छैठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छैठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य पुराणमा उल्लेख छ ।
छैठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काे व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।