३ कार्तिक, काठमाण्डौँ । नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गर्नुभएको प्रस्ताव फिर्ता हुनुपर्ने भनेर बैठकमा आफूले प्रस्ताव राखेको भन्ने समाचार गलत भएको उपाध्यक्ष वामदेव गौतमले बताउँनुभएको छ । केही न्युज पोर्टलहरुमा यस्ता समाचार आएकोमा सो खबर झुठो भएको गौतमको सचिवालयले स्पष्ट पारेको छ ।
आजको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल गर्ने भन्ने कुनै एजेण्डा समेत नभएको भन्दै गौतम लगायतका नेताहरुले सौहाद्र्धतालाई ख्याल गर्दै कुनै किसिमको उत्तेजक अभिव्यक्ति बैठकमा नदिएको पनि गौतमको सचिवालयले जनाएको छ ।
‘समाचारहरुमा चर्काचर्की भयो, घम्साघम्सी भयो भन्दै वामदेव गौतमले प्रचण्डको प्रस्ताव फिर्ता हुनुपर्ने कुरा गरेकोसम्मका कपोलकल्पित कुरा आए। वास्तवमा आजको बैठकमा त्यस किसिमका कुनै कुरा उठेका छैनन,’ गौतमको सचिवालयले जारी प्रेस नोटमा भनिएको छ ।
प्रचण्डले पेश गरेका प्रस्तावहरु गौतमको समेत सहमतिमा आएको र त्यसलाई कुनै हालतमा फिर्ता गरिनुहुँदैन भन्ने कुरामा उहाँ अडिग रहेको पनि गौतमले सचिवालयमार्फत स्पष्ट पार्नुभएको छ ।