२७ कार्तिक, काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भेली शुक्रबार बस्ने भएको छ । दुवै अध्यक्षको सहमतिमा भोलि अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाईएको छ । बैठकबारे सचिवालयका सबै सदस्यहरुलाई जानकारी पुगेको बुझिएको छ ।
आजका लागि तय भएको बैठक सारेर भोलि अपरान्ह ४ बजेका लागि तय भएको हो । बैठकले पार्टीमा उत्पन्न विवादबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ ।
नेकपा गम्भीर दुर्घटनाको नजिक पुगिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठक राख्न राजी भएको बुझिएको छ । यसअघि उहाँले बैठक राख्न अस्वीकार गर्दै आउनुभएको थियो । ओलीले बैठक डाक्न नमानेपछि सचिवालयका बहुमत सदस्यले अल्टिमेटम दिएर आफै बैठक राख्ने घोषणा गरेका थिए ।
महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।