जनताको जनमतलाई बीचैमा छोड्ने कुरा हुन्नः प्रधानमन्त्री ओली

जनताको जनमतलाई बीचैमा छोड्ने कुरा हुन्नः प्रधानमन्त्री ओली


२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पार्नुभएको छ । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभएको छ ।

उहाँले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने समेत बताउनुभएको छ । पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उहाँको तर्क छ । ‘जनताले पाँच वर्षका लागि जनमत दिएको छ, अब बीचैमा छोड्ने कुरा हुन्न । हल्लाको पछि नलाग्नुहोस्’, उहाँले भन्नुभयो ।

ओलीले आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन ।’

संखुवासभाको किमाथांका पुग्नुभएका प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर आज नै काठमाडौं फर्किनुभएको छ ।

उहाँसँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुग्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर