प्रधानमन्त्री ओली आज संखुवासभा जानुहुँदै (कार्यक्रम तालिका हेर्नुहोस्)

प्रधानमन्त्री ओली आज संखुवासभा जानुहुँदै (कार्यक्रम तालिका हेर्नुहोस्)


२६ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैहुनुहुन्छ । दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेपछि पछि पहिलो पटक प्रधानमन्त्री ओली आज काठमाडौं बाहिर निस्कनुहुँदैछ । उहाँ दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ ।

उहाँले संखुवासभामा सडक र जलविद्युत आयोजनाको निरीक्षण तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गर्नुहुने छ ।

संखुवासभामा प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा राखिएको छ ।

ओलीले किमाथाङ्कामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण गर्नुहुने छ । त्यसपछि स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नुहुनेछ ।

किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्याम्ताङ भन्ने स्थानमा जानुहुनेछ । च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नुहुनेछ । च्याम्ताङमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गर्दैछ । १४ किलोमिटर ट्रयाक खुलेपछि कोशी राजमार्गले चीनसँगको सिमाना छुनेछ । त्रिदेशीय महत्वको यो सडक निर्माणको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नुहुनेछ ।

च्याम्ताङ पछि १ः३० बजे प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिन्दामा आयोजनाको ड्याम बनिरहेको छ ।

ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ सुन्नुहुनेछ । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।

एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो ९ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । यसको शिलान्यास २०७५ बैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गर्नुभएको थियो । अरुण तेस्रोको काम हालसम्म करिब ४० प्रतिशत सम्पन्न भएको छ ।

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनुहुनेछ ।

फ्याक्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर