ओलीको ‘ग्रीन सिग्नल’ पर्खेदैँ नेकपाका पाँच शिर्ष नेता

ओलीको ‘ग्रीन सिग्नल’ पर्खेदैँ नेकपाका पाँच शिर्ष नेता


२५ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठक राख्ने पक्षमा अझै पनि हुनुहुन्न । गत कार्तिक २२ गते नेकपाका ५ सचिवालय सदस्यले बैठक बोलाउन आग्रह गर्दै पत्र बुझाएपनि प्रधानमन्त्री ओली तयार हुनुहुन्न ।

पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितको सचिवालयका ५ नेताको अनौपचारिक बैठकमा ओली तयार नभएपछि कसरी अघि बढ्ने भन्नेबारे सामान्य छलफल भएको छ । तर, बैठक बोलाउन ओलीको ‘ग्रीन सिग्नल’ नआएसम्म मौनतामै रोकिइरहने मनस्थितिमा देखिएका छन् । सचिवालयका बहुमत सदस्य बैठकको पक्षमा हुँदाहुँदै पनि प्रचण्डलगायतका नेताहरु बैठक बोलाउन अलमलमा परेका छन् ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय भएको बताउँदै आफूहरु अझैपनि सहमतिकै पक्षमा रहेको बताउनुभयो ।

श्रेष्ठका अनुसार ५ नेताको बैठकअघि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । भेटका क्रममा कार्तिक २७ गते बैठक बोलाउन प्रचण्डले आग्रह गरेपनि ओलीले बैठकको औचित्य नभएको भन्दै नबोलाउने जवाफ दिनुभएको थियो ।

पाँच नेताको बैठकलाई ब्रिफिङ गर्दै प्रचण्डले ओलीले अझै बैठक बोलाउन आनाकानी गरेपनि पार्टीभित्रको यावत समस्या समाधानका लागि बैठकको विकल्प नभएको बताउनुभएको थियो ।

प्रचण्डसहित सचिवालयका पाँच सदस्यले २२ गते प्रधानमन्त्री ओलीलाई लिखितरुपमै बैठक बोलाउने सहमति दिन आग्रह आग्रह गरेका थिए । पाँच नेताको जोड २३ वा २४ मा बैठक बोलाउने थियो ।

२५ गतेसम्म पनि बैठक बोलाउने सुरसार नदेखेपछि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर ओलीसँग छलफल गर्नुभएको हो । छिट्टोभन्दा छिटो बैठक बोलाउनुको विकल्प नभएको प्रचण्डको जोड थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोलि प्रधानमन्त्री उपत्यका बाहिर जाने कार्यक्रम भएकाले पर्सि २७ गते सचिवालय बैठक बोलाउने सहमति दिन र बैठकमा आउन प्रचण्डले प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर