२५ कार्तिक, काठमाण्डौँ । सीमा विवादका कारण चिसिएको नेपाल–भारत सम्बन्धमा सुधारको पहल सुरु भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले दुई देशबीचको सम्बन्धमा सुधार ल्याउन सक्रियता देखाएका हुन् ।
सोहीअनुसार भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने भएको छ ।
सुरुमा भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला, त्यसपछि विदेशमन्त्री जयशंकर र त्यसलगत्तै भारतका रक्षामन्त्री राजनाथ सिंह वा गृहमन्त्री अमित शाहमध्ये कोही एक नेपाल आउने तयारी भइरहेको स्रोतले बताएको छ ।
विदेश सचिव श्रृंगला र विदेशमन्त्री जयशंकारको नेपाल भ्रमण तय भइसकेको छ । भारतीय दूतावास स्रोतका अनुसार विदेश सचिव श्रृंगला नोभेम्बर २६ मा नेपाल आउन लागेका हुन् ।
विदेश मन्त्री जयशंकर भने डिसेम्बरमा आउने छन् । विदेश मन्त्री आउने तय भए पनि मिति तोकिएको छैन ।
विदेश सचिव श्रृंगला फर्केपछि विदेशमन्त्री जयशंकरको भ्रमण मिति तय हुने बताइएको छ । २०१९ डिसेम्बरमा पनि भारतीय विदेश सचिव नेपाल आउने तय भएको थियो । तर त्यतिबेला नै सचिव परिवर्तन भएकाले भ्रमण स्थगित भएको थियो ।
त्यसपछि कोरोना महामारी सुरु हुनुका साथै नेपाल र भारतबीच सीमा विवाद पनि चर्किएको थियो । सीमा विवादपछि दुई देशबीचको सम्बन्धमा चिसोपन देखिएको छ ।
सीमा विवादलाई लिएर नेपाल र भारतबीच सम्बन्ध बिग्रिएकै समयमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल र त्यसपछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण भएको थियो । हालै भएका ती भ्रमणले आपसी सम्बन्धमा केही सुधार भएको महसुस दुवै पक्षले गरेका छन् । सोही कारण पनि भारतका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको तयारी भएको हो ।
सीमा विवाद समाधानका लागि भारतले कुनै चासो नदेखाएको आरोप लागिरहेको बेला भारतले नेपालमै आएर त्यस विषयमा कुराकानी गर्ने तयारी गरेको छ । यी भ्रमणहरुले सीमा विवादलाई समाधान गर्ने बताइएको छ ।