धुम्बाराहीमा नेकपा सचिवालयका बहुमत सदस्यको बैठक बस्ने तयारी

धुम्बाराहीमा नेकपा सचिवालयका बहुमत सदस्यको बैठक बस्ने तयारी


२५ कार्तिक, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै उत्कर्षमा पुगेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न लिखित रुपमै आग्रह गरेका सचिवालयका बहुमत सदस्यहरुले आज धुम्बाराहीमा बैठक बोलाउनुभएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले यसअघि बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक डाक्न लिखित रुपमै आग्रह गर्नुभएको थियो । उहाँहरुले आजसम्म बैठक डाकिसक्न अल्टिमेटम दिनुभएको थियो तर, ओलीले बैठक नडाक्ने जवाफ दिएपछि यतिवेला दाहाल–नेपाल समूह बैठक राखेर नै अघि बढ्ने तयारीमा जुटेको छ ।

सोही अनुसार आज अपरान्ह ४ बजे धुम्बाराहीमा सचिवालयका ५ जनाको बैठक बस्ने बुझिएको छ ।

सोमबार महासचिव विष्णु पौडेल ओलीको सन्देश लिएर दाहालको खुमलटारस्थित निवासमा पुग्नुभएको थियो । उहाँले सहमति गरेर अघि बढ्न दाहाललाई आग्रह गर्नु भएको थियो ।

त्यसको भोलिपल्ट लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि खुमलटारमा दाहाललाई भेटेर फर्किनु भएको छ ।

पोखरेल र दाहालबीच मंगलबार बिहान भेटवार्ता भएको दाहालको सचिवालयले पुष्टि गरेको हो ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार पोखरेलसँग प्रचण्डले अब पर्खिने र कुर्ने अवस्थामा नरहेको सन्देश ओलीलाई पठाउनु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर