२४ कार्तिक, काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले हाल संञ्चारमाध्यममा आएजस्तो अवस्था पार्टीभित्र नरहेको र शीर्ष नेतृत्वबीच केही मतभेदमात्र भएको जिकिर गर्नुभयो ।
गृह जिल्ला ताप्लेजुङको विभिन्न स्थानीय तहको भ्रमणमा क्रममा मन्त्री भट्टराईले मिक्वाखोला गाउँपालिकामा स्थानीय पार्टीका कार्यकर्ता तथा समर्थकसँग भेटघाट गर्नुहुँदै शीर्ष नेतृत्वबीच केही मतभेद र टकराव रहे पनि उहाँहरु पार्टी एकताकै पक्षमा रहनुभएको बताउनुभयो ।
पार्टी अध्यक्षद्वयसहित नेपालको प्रधानमन्त्री बनिसकेका चारजना नेता नेकपामा रहकाले उहाँहरु नेकपालाई कसरी शक्तिशाली र बलियो बनाउन सकिन्छ भन्ने चिन्तनमा रहेको भट्टराईले बताउनुभयो ।
उहाँले पार्टी कार्यकर्ता तथा समर्थकले राखेका जिज्ञासाको जवाफमा देशकै ठूलो र धेरै नेता भएको पार्टीमा कुनै बेला सामान्य अन्तर्विरोध र मतभेद आउनु स्वाभाविक भएको बताउनुभयो ।
पार्टी एकतालाई थप मजबुत बनाउन शीर्षसहित पार्टीका दोस्रो, तेस्रो र चौथो तहका नेतृत्वसमेत प्रयत्नरत रहेकाले कसैले पनि विचलित हुनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो । पार्टी एकताकै विषयलाई लिएर अन्तर्संङ्घर्षहरु चलिरहेकाले यसबाट पार्टी अझ एक ढिक्का र स्पातिलो बनेर जानेमा कार्यकर्ता पङ्िक्तलाई उहाँले विश्वास दिलाउनुभयो ।
-रासस