भारतीय सेनाध्यक्ष नरभाने आज मध्यान्न नेपाल आईपुग्ने, शुरक्षा व्यवस्था कडा

भारतीय सेनाध्यक्ष नरभाने आज मध्यान्न नेपाल आईपुग्ने, शुरक्षा व्यवस्था कडा


१९ कार्तिक, काठमाण्डौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको पूर्वसन्ध्यामा प्रहरीले चकजाँच बढाएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले नरभानेको भ्रमणको तयारी स्वरुप चेकजाँच र शंकास्पद क्षेत्रमा निगरानी बढाएको हो ।

रानीपोखरीका एक प्रहरी अधिकृतका अनुसार नेपाली सेना र नेपालस्थित भारतीय दूतावासका अधिकारीहरुको समन्वयमा सुरक्षा प्रबन्ध मिलाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले तिहारका लागि सुरक्षा योजना पनि कार्यान्वयनमै रहेका वेला हुन लागेको नरभानेको भ्रमणलाई लक्षित गरेर पनि सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो ।

नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दज्र्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा हो । तर नरभानेले नेपाल–भारत सीमा विवादमा दिएको विवादास्पद अभिव्यक्तिका कारण उनलाई सुरक्षा चुनौति रहेको सुरक्षा निकायको विश्लेषण छ ।

नरभानेले दिल्लीको सुरक्षा तथा रणनीतिक मामिलाका थंक ट्यांक मनोहर पर्रिकर रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आईडीएसए) ले आयोजना गरेको कार्यक्रममा नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको बताएका थिए ।

यही अभिव्यक्तिका कारण उनलाई विभिन्न समूहले कालो झण्डा देखाउन सक्ने, कफन बाँधेर बस्ने, कालो कपडा देखाउने र भिड जम्मा भएर विरोध प्रदर्शन हुनसक्ने विश्लेषण नेपालस्थित भारतीय दुतावासको पनि छ । त्यसअनुसार प्रहरीले सम्भावित समूह र व्यक्तिमाथि निगरानी बढाएको छ । यो समाचार तयार पारुञ्जेलसम्म प्रहरीले कसैलाई नियन्त्रणमा लिइसकेको भने छैन ।

मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत उनी काठमाडौं आउने छन् । चार सदस्य टोलीसहित उनी नेपाल आउन लागेका हुन् । भ्रमण टोलीमा पत्नी विणा पनि छिन् ।

तीन दिनको औपचारीक भ्रमणमा नरवणे कालिमाटी स्थित सोल्टी होटलमा बस्ने भएका छन् । बुधवार नै उनी पत्नीसहित पशुपति दर्शनका लागी जाँदैछन् । साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आयोजना गरेको डिनरमा सहभागी हुँदैछन् । डिनर कार्यक्रम कहाँ हुने भन्नेबारे नेपाली सेनाले सार्वजनिक गरेको छैन ।

नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी ग्रहण गर्न आउन लागेका नरवणे बिहीबार र शुक्रवार औपचारीक कार्यक्रममा सहभागी हुन्छन् ।

‘आज औपचारीक कार्यक्रम छैन’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोषबल्लभ पौडेलले भन्नुभयो, ‘बिहीबार विहान सैनिक मञ्च र जंगी अड्डामा हुने औपचारीक कार्यक्रममा उहाँ सरिक हुनुहुन्छ ।’

बिहिबार विहान जंगीअड्डामा आयोजित समारोहमा नेपाली सेनाका लागी नरवणेले एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ । जंगी अड्डामा सम्मान गारत निरिक्षण, प्रधान सेनापतीसँग औपचारीक छलफल र जेष्ठ रथीहरुसँग अन्तक्रियाको कार्यक्रम राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्नेछिन् । त्यसपछि साइडलाईनमा राष्ट्रपति र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेट हुनेछ । साँझ नेपाली सेनाले जंगी अड्डामा आयोजना गरेको रात्रिभोजमा उनी सहभागी हुनेछन् । रात्रिभोजमा भारतीय डेलिगेशन टोली र नेपाली सेनाका सिनियर अधिकृत सहभागी हुने बताइएको छ ।

शुक्रवार बिहान उनी शिवपुरीस्थित नेपाली सेनाको स्टाफ कलेज जानेछन् भने सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनी स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर