१८ कार्तिक, सुनसरी । धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि थोक बजार यो बर्ष पनि देशभरिकै थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । धरानको कृषि बजारले योसँगै सातौं पटक प्रथम पुरस्कार हात पारेको हो
यसअघि पनि २०६१, २०६३, २०६८, २०७२, २०७५ र २०७६ सालमा पनि धरानको कृषि थोक बजारले प्रथम पुरस्कार पाएको थियो ।
प्रत्येक बर्ष संघीय कृषि मन्त्रालयले अक्टोवर १६ अर्थात विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोक बजारहरुलाई पुरस्कृत गर्दै आएको छ ।
नेपाल भरि सरकार मातहतको काठमाण्डौंको कालिमाटीसहित ११ वटा थोक बजार सञ्चालित रहेको छ ।
यो बर्ष कोभिडले गर्दा पूरस्कार वितरणको औपचारिक कार्यक्रम गर्न नसकेकोले समय अनुकुल बनाएर पुरस्कार लिन आउन आग्रह गरेको पत्र कृषि बजारले पाएको छ ।
मन्त्रालयले बजार सफाईको अबस्था, बजारले सेवा प्रदान गरेको स्तर, कारोबारको अबस्था, कृषि बस्तु अन्य राष्ट निर्यात गर्ने गरेको अबस्था, नेपाल सरकारको नियम पालना नभए नभएको, बजारको पुर्वाधारलगायतको मुल्यांकन गरेर पुरस्कृत गर्ने गरेको व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो ।
कृषि बजारले पुरस्कृत भएवापत पुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसर पाउनेछ । मन्त्रालयले छनौट गरेको कम्तीमा एउटा योजनामा बजेट दिने व्यवस्थापक भट्टराईको भनाई छ ।
यो बजारले गत आर्थिक बर्षमा एक लाख ४५ हजार मेट्रिक टन बराबर कृषि बस्तुको कारोबार गरेको थियो । जसको नगदमा रु पाँच अरब ५० करोड रुपैँया बराबर रहेको छ ।