८ कार्तिक, काठमाण्डौँ । भारतीय खुफिया गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयल नेपालमा दुई दिनसम्म बसे । त्यस अवधीमा उनी नेपाली राजनितीक दलका नेताहरुसंगको भेटमा पुरै व्यस्त रहे ।
‘रअ’का प्रमुख गोयलले सेनाको विशेष विमानबाट बुधबार दिउँसो एक्कासी काठमाडौँ आएर खुल्लमखुल्ला सरकार प्रमुख र प्रमुख प्रतिपक्षी दलका नेतासङ्ग भेट्वार्ता गरे ।
‘लन्च’ यतै, ‘डिनर’ यतै अनि भोलिपल्ट बिहानको ‘ब्रेकफाष्ट’ पनि यतै लिएर उनको टोली अस्ति बिहान नयाँ दिल्लीतर्फ फर्के पनि उक्त भ्रमणको तरङ्ग भने सकिएकै छैन ।
विशेषगरी पार्टीभित्रको तनावमा पर्नुभएका सरकार प्रमुख र महाधिवेशनको संघारमा आन्तरिक गुटवन्दीको शिकार बन्नुभएका अर्थात यौटै नियतिका प्रमुख प्रतिपक्षी नेतासँग भारतीय खुफिया संस्थाका प्रमुखले गरेको गोप्य भेटघाटले नयाँ समीकरणको तरङ्गलाई छताछुल्ल पारिदिएको छ ।
गोयलले क–कस्लाई भेटे ?
स्रोतका अनुसार गोयल सवार वायुसेनाको इण्डिया फोक्स्टर चार्ली ४६२० कल साइनको विशेष विमान कात्तिक ५ गते मध्यान्ह १२ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । ९ जना सवार भनिएको उक्त विमानमा गोयलसँगै भूकम्पताका नेपालस्थित “रअ” को स्टेशनमा रहेका अरुण जैन पनि थिए ।
बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा समेत केही कोठा बुक गरिएको भएपनि टोली विमानस्थलबाट सोझै १ बजे चाबहिल चुच्चेपाटीस्थित होटल हायात रिजेन्सीमा पुगेको थियो । लन्चपछि केहीबेर आराम गरेर गोयल दिउँसो ३ बजे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पुगेको बताइन्छ । आधा घण्टाको छलफलपछि उनी बा ००१ च ०२०९ नम्बरको गाडी चढेर ४ बजेर ४ मिनेटमा लैनचौरस्थित दूतावास छिरेका थिए ।
दूतावासमा केही बेरको छलफलपछि साँझको नास्ता लिएर राति ९ बजे प्रधानमन्त्री निवास बालुवाटार छिरेका उनी त्यहाँबाट निस्कँदा मध्यरातको १२ बजेर १० मिनेट गएको स्रोतले दाबी गरेको छ । राती ठ्याक्कै तीन घण्टा प्रधानमन्त्रीसँग गोयलले वार्ता गरेका थिए ।
प्रधानमन्त्री निवासबाट निस्केर गोयल मध्यरात ‘रअ’ का काठमाडौं इन्चार्ज अभिजित हल्दरको निवास बालुवाटार चोक पुगे । प्रधानमन्त्री निवास र हल्दरको निवास मुश्किलले केही केही सय मीटरको दूरीमा छ । “रअ” का नेपाल प्रमुखको निम्ति राष्ट्र बैंकको दक्षिण पश्चिम कुनोमा अवस्थित सभामुख (हाल राष्ट्रिय सभा अध्यक्ष) को निवासबाट ठ्याक्कै सामुन्ने दक्षिणतर्फ बाटैमा विपुला निवास रहेको छ ।
राती अभिजितसँग आधा घण्टा भलाकुसारी गरेपछि गोयलको टोली आरामको निम्ति रातको पौने दुई बजे बल्ल हायात होटल पुगेको थियो । बिहान ८ बजे ब्रेकफास्ट खाएपछि उनी र अरुण जैन ९ः४० बजे विमानस्थल पुगेर १० बजेर ८ मिनेटमा फर्केको सेड्युलमा देखिन्छ ।
-जनआस्था