६ कार्तिक, काठमाण्डौँ । दुई दिन नेपाल भ्रमणमा आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल बुधबार काठमाडौं आएलगत्तै खैलाबैला मच्चिएको थियो । उनी विशेष विमानमा किन नेपाल आए ? यो आम चासोको विषय बन्यो ।
देशका प्रधानमन्त्रीको स्वीकृति विना उनी नेपाल आउन सम्भव नभएको नेकपा विदेश विभागका विष्णु रिजालले बताउनुभयो । उहाँको भनाईलाई आधार मान्ने हो भने प्रधानमन्त्री ओलीकै अनौपचारिक निम्तोमा गोयल नेपाल आएका हुन् ।
गोयलले एक रातको नेपाल बसाईंमा महत्वपूर्ण भेटवार्ता गरेको बुझिएको छ । उच्च स्रोतका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुसँग भेटेका छन् । उनको यो भेट आफैमा अर्थपूर्ण छ ।
ओलीको भारतसँग सम्बन्ध चिसिएको अवस्थाबीच गोयल नेपाल आए । यसलाई ओली र भारतीय पक्ष दुवैको सम्बन्ध सुधार्ने पहलका रुपमा हेरिएको छ । कालापानीको सीमा समस्यालगायतमा नेपाल र भारतबीच सम्बन्ध चिसिएको थियो । यसलाई थाती राखेर दुई देशबीच सम्बन्ध अगाडि बढाउने पहल भइरहेको थियो । यसबीच गोयल नेपाल आए ।
नेपालमा चिनियाँ प्रभाव बढेको विषयले भारत निकै गम्भीर भएको थियो । ओलीसँग जति सम्बन्ध चिसियो उति अर्काे शक्तिले ठाउँ बलियो बनाउँदै गएको निष्कर्षपछि भारत पनि गम्भीर भएको छ । अहिले ओलीसँगै सम्बन्ध सुदृढ बनाएर जाने पक्षमा भारत देखिएको छ ।
ओली पनि भारतसँगको विगतको तिक्तता मेटेर सम्बन्ध सुधारेर जाने पक्षमा हुनुहुन्छ । यसलाई दृष्टिगत गरी उहाँले गोयललाई अनौपचारिक तरिकाले नेपाल बोलाएर महत्वपूर्ण कुराकानी गर्नुभएको स्रोत बताउँछ ।-file photo.