५ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पाटी (नेकपा) भित्र नयाँ समिकरणको पहल शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो एक्ला एक्लै कुराकानीबाट नयाँ समिकरणको पहल शुरु भएको स्रोतले बताएको छ ।
ओलीले नेपाललाई मिलेर जान प्रस्ताव गर्नुभएको छ । उहाँले पूर्व एमालेबीचको एकतामा जोड दिएपछि नेपालले त्यसलाई सकारात्मक रुपमा लिनुभएको बुझिएको छ । स्रातेका अनुसार आफू सधै सहमति र सहकार्यको पक्षमा रहेको समेत नेपालको जवाफ थियो । ‘म सधैं सहमतिबाट जाने पक्षमा छु, तपाईं नै मोडिनुभयो’ नेपालको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
ओलीले नेपाल प्रचण्डसँग नजिकिएर आफ्नोविरुद्ध उत्रिएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको थियो । उहाँले प्रचण्डले सरकार र पार्टी संञ्चालनमा अप्ठ्यारो पारेको भन्दै नेपाललाई साथ दिन आग्रह गर्नुभएको थियो ।
मन्त्रिमण्डल पुर्नगठनमा समेत सहमतिबाट बढ्ने भन्दै नेपाललाई मिलेर जाने प्रस्ताव गरेको बुझिएको छ । नेपालले भने आफूले यसबारे निकटस्थहरुसँग परामर्श गरेर बढ्ने जवाफ दिनुभएको थियो ।
यसले पूर्व एमाले पक्ष पुनः एक ठाउँमा आउने संकेतहरु देखिएको छ । नेकपाभित्र ओलीलाई हटाउन नयाँ डिजाइन बनिरहँदा बालुवाटारमा हिजो नेपालसँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।