कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

कोरोना संक्रमितको उपचार सरकारले गर्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल


४ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवंम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भन्ने सरकारको निर्णय जनताप्रति गैरजिम्मेवार र अनुत्तरदायी भएको भन्दै फिर्ता लिन माग गर्नुभको छ । आज विज्ञप्ति जारी गर्दै सत्तारुढ दलका नेता नेपालले सरकारको निर्णयले आफूलाई गम्भीर बनाएको उल्लेख गर्नुभएको छ ।

देश कोरोनाको महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै विरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैं गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति नेता नेपालले आफ्नोे गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाउनुभएको छ ।

सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको भन्दै नेता नेपालले सङ्कटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बताउनुभएको छ । ‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरिबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो’, नेता नेपालको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर