३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वन्धमा फाटो सुरु भएको छ । आफूलाई पटक पटक ओलीबाट धोका भएको भन्दै उपाध्यक्ष गौतमले नयाँ योजनासाथ बढ्ने निष्कर्षका साथ निकटस्थहरुलाई तयारीमा लाग्न आग्रह गर्नुभएको स्रोतको भनाई छ ।
स्रोतका अनुसार गौतमले आफूले पटक पटक साथ दिंदा पनि धोका भएको भन्दै अब कडा कदम चालेर देखाउने तयारी थाल्नुभएको हो । गौतमले यसअघि बनेको ओलीविरुद्धको समूहलाई बलियो बनाउने अभियान चलाउनुभएको छ । त्यसका लागि उहाँले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गरिसक्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो लागि सरकारमा जाने ढोका बन्द गरिदिएको गैतमको निष्कर्ष छ । गृहमा रामबहादुर थापा बादलको निरन्तरता र अर्थमा विष्णु पौडेलको प्रवेशसँगै गौतमले त्यस्तो निष्कर्ष निकाल्नुभएको हो ।
मन्त्री बन्नकै लागि राष्ट्रियसभा सदस्यमा मनोनित भएका गौतमका सामु सर्वोच्च अदालतले ढोका अहिलेलाई बन्द गरिदिएको छ । तर, गौतमले यसमा पनि ओलीको भूमिकामाथि आशंका गर्नुभएको छ ।
गौतमसँग ओलीको टकराव र मिलनको सिलसिला चल्दै आएको छ । कुनैबेला एमाले विभाजन हुँदा मुख्य द्वन्द्व ओली र गौतमबीच नै भएको थियो । पछि गौतम फेरि ओलीसँग नजिकिनुभयो ।