१६ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान बालुवाटारमा बसेको बैठकमा मन्त्रिमण्डल पुर्नगठन, राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको स्रोतको भनाई छ ।
नेकपा भित्र मन्त्रिमण्डल पुर्नगठनबारे अझै कुरा मिल्न सकेको छैन । सहमति बन्न नसकिरहँदा प्रधानमन्त्री ओलीले मुख्य सचिव र राजदूतको नियुक्ति गरेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बन्दै आएका छन् ।
दुई नेताबीच झण्डै पौने घण्टामात्र भेटवार्ता भएको थियो । भेटवार्तामा दुई अध्यक्षबीच शनिबार चार बजे बस्ने गरी सचिवालय बैठक बोलाउने सहमति भएको छ ।
आजको भेटमा अध्यक्ष प्रचण्डले पार्टीमा छलफल नै नगरी राजदूत नियुक्ति गर्न सिफरिस गरेपछि पार्टीमा असन्तुष्टि बढ्न पुगेको भन्दै ओलीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा ओलीले लामो समय राजदूत पद खाली राख्दा राम्रो सन्देश नजाने भएकाले सिफारिस गर्नुपरेको जवाफ दिनुभएको स्रोतको भनाई छ ।