१२ असोज, काठमाण्डौँ । पछिल्लो समय नेपालमा बलात्कार जस्तो जघन्य घटना दिनहुँ जसो बाहिर आईरहेको छ । यस्तै घटना फेरी बझाङ जिल्लामा पनि घटेको छ । बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकको वलात्कार पछि क्रुरतापूर्वक ढंगले हत्या गरिएको घटना भर्खेरै मात्र बाहिर आएको छ ।
बलात्कारमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन ढिलाइ हुँदा निम्तिने दुष्परिणामको उदाहरण बनेको छ यो घटना ।
बलात्कारीलाई समयमै प्रहरी प्रशासनसमक्ष उभ्याएर कारवाहीको दायरामा ल्याइएको भए बझाङ, मष्टा गाउँपालिका–२ की १२ वर्षीय बालिका सम्झना विकले सायद आज अकालमा ज्यान गुमाउनु पर्दैन थियो होला ।
किनकि, उनको बलात्कार र हत्याको आरोपमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहराले केही समयअघि मात्र अर्की १४ वर्षीय बालिकालाई बलात्कार गरेको तथ्य प्रकाशमा आएको छ । उक्त अपराधमा उनलाई कानुनी कारवाहीको दायरामा समयमै ल्याइएको हुन्थ्यो भने सम्झना विकसम्म उनी पुग्न पाउँदैनथे ।
एक महिनाअघि भएको उक्त घटनालाई पीडित परिवारले नै गुपचुप राखे । उक्त घटना प्रहरीसम्म पुगेको भए सायद राजेन्द्र यसअघि नै जेलभित्र हुन्थे र सम्झना यतिबेला जीवितै हुन्थिन् ।
प्रहरीका अनुसार राजेन्द्रले एक महिनाअघि गाउँकै बालिकालाई बलात्कार गरेका थिए । राजेन्द्रको परिवारको घट्टमा पिठो पिस्न आएकी १४ वर्षीय बालिकालाई उनले बलात्कार गरेका थिए ।
सो घटनालाई दुई परिवार बसेर गुपचुप मिलाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले बताउनुभयो ।
बच्चा जन्मेमा जिम्मा लिने सहमति गरेर सो घटना गुपचुप मिलाएको पाइएको छ उहाँले बताउनुभयो । अहिले पहिलो बलात्कार पीडितबाट पनि जाहेरी प्राप्त भएको छ प्रहरीले जानकारी दिएको छ ।
साउन २९ मा मष्टा–२ स्थित घट्टमा साँझ ५ बजे राजेन्द्रले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घट्टमा राजेन्द्र एक्लै थिए । पिठो पिस्न गएकी किशोरीलाई उनले त्यहीँ बलात्कार गरे । ३ दिनपछि परिवारले घटना थाहा पाएपछि दुई पक्ष बसेर गरेको मिलापत्र गरेका थिए ।
पहिलो घटना गुपचुप मिलाउँदा दोस्रो घटना भएको एसएसपी मुकेश सिंहले बताउनुभयो । परिवार संमवेदनशील भएर पहिलो घटना नलुकाएको भए दोस्रो बलात्कार–हत्या नहुने उहाँको भनाई छ ।
सम्झनाको हत्या निकै पाशविक ढंगले गरिएको खुलेको छ । उनलाई बलात्कारपछि टाउकोमा ढुङ्गाले हिर्काएर र फलामको सुईरोले घोचेर हत्या गरेको उनको शव परीक्षण रिपोर्टबाट खुलेको हो ।
जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार बलात्कारपछि समवेदनशील अङ्गमा समेत तिखो वस्तुले घोचेको र टाउकोमा ढुंगाले हिर्काएको देखिएको छ । शव परीक्षणको विस्तृत रिपोर्ट भने आउन बाँकी छ ।
बलात्कार र हत्याका आरोपित राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरी अदालतबाट १५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले बताउनुभयो ।